
उदयपुर, साउन २० —दुर्घटनाको उच्च जोखिमयुक्त क्षेत्र भनेर ट्राफिक प्रहरीले ‘ब्ल्याक स्पट’ घोषणा गरेको मदन भण्डारी राजमार्गअन्तर्गत कटारी–गाईघाट सडकखण्डको अँधेरी–जोगिटोल खण्डमा फेरि दुःखद घटना भएको छ।
उदयपुरगढी गाउँपालिका–७ स्थित तीन किलोमिटर लामो उक्त सडकखण्डमा सोमबार बिहान मालबाहक गाडी दुर्घटना हुँदा एक वृद्धले ज्यान गुमाएका छन्। गाईघाटतर्फ सामान बोकी आउँदै गरेको चिसो पेयपदार्थ लोड गरिएको मालबाहक गाडीले स्थानीय ७२ वर्षीय टंकबहादुर लामिछाने मगरलाई किच्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
घटनामा अर्का एक व्यक्ति गम्भीर घाइते भएको र उनको अवस्था गम्भीर रहेको जनाइएको छ। घाइतेको उपचारका लागि तत्काल अस्पताल पठाइएको छ। जिल्ला प्रहरी प्रमुख एसपी हरिहरनाथ योगीले घटनाको पुष्टि गर्दै आवश्यक अनुसन्धान भइरहेको जानकारी दिनुभयो। “ब्ल्याक स्पटको रूपमा चिनिएको यस खण्डमा फेरि मानवीय क्षति भएको छ,” एसपी योगीले भन्नुभयो, “विस्तृत विवरण संकलनको काम जारी छ।”
चार दिनअघि मात्र यही सडकखण्डमा मालवाहक ट्रक पल्टिँदा चालक ३५ वर्षीय जीवन वि.क. को ज्यान गएको थियो। प्रदेश नं. १–०२–००१ ख ९२६० नम्बरको ट्रक साउन १५ गते दुर्घटनाग्रस्त भएको थियो।स्थानियवासीहरूले पटक–पटक दुर्घटना हुँदा पनि सडक सुधार तथा ट्राफिक सुरक्षातर्फ सम्बन्धित निकायको बेवास्ता रहेको गुनासो गर्दै आएका छन्।