
उदयपुर असार १६ — त्रियुगा नगरपालिकाले यहि असार १७ गतेदेखि २० गतेसम्म कोभिड–१९ विरुद्धको फायजर खोप अभियान सञ्चालन गर्ने भएको छ। स्वास्थ्य सेवा शाखाको समन्वयमा सञ्चालन हुने उक्त अभियानमार्फत नगर क्षेत्रभित्रका नागरिकहरूलाई लक्षित गरी खोप प्रदान गर्न लागेको हो ।
१२ वर्षभन्दा माथिका सबै नागरिकहरूलाई खोप दिने कार्यक्रम तय गरिएको छ भने गर्भवती महिला, सुत्केरी महिला, दीर्घरोगी तथा ५५ वर्षभन्दा माथिका नागरिकहरूलाई विशेष प्राथमिकता दिइने नगरपालिका स्रोतले जनाएको छ।
नगरपालिकाका स्वास्थ्य चौकी, खोप केन्द्र तथा विद्यालयहरूमा खोप अभियान सञ्चालन गरिनेछ। खोप अभियानमार्फत नगर क्षेत्रलाई कोभिड संक्रमणको जोखिमबाट जोगाउन र जनस्वास्थ्य सुरक्षालाई मजबुत पार्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। नगरप्रमुख, उपप्रमुख तथा स्वास्थ्य शाखाको नेतृत्वमा हुने अभियानलाई प्रभावकारी बनाउन आवश्यक तयारीहरू पूरा भइसकेको जनाइएको छ।