
औद्योगिक पर्यटन प्रवर्द्धन र स्थानीय खानाको प्रवर्धन गर्ने उद्देश्यले गाईघाटमा आयोजित दुई दिने चौथो औद्योगिक महोत्सव भव्य रुपमा सम्पन्न भएको छ। महोत्सव २०८२ असर ४ गतेदेखि सुरु भई असर ५ सम्म सञ्चालन गरिएको थियो।
महोत्सवको उद्घाटन कोशी प्रदेश उपसभामुख सिर्जना दनुवारले गर्नुभएको थियो। उद्घाटन समारोहमा स्थानीय जनप्रतिनिधि, उद्योगी, पर्यटन व्यवसायी, विद्यार्थी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको पहिलो दिन आफ्नै स्थानीय उद्योगहरुमा उत्पादित वस्तुहरुको प्रदर्शनी गरियो जसअन्तर्गत सहभागीहरूले उद्योगको कार्य प्रणाली, उत्पादन प्रक्रिया र त्यसको आर्थिक प्रभावबारे प्रत्यक्ष जानकारी प्राप्त गरे। यसले औद्योगिक पर्यटनप्रति आम नागरिकको चासो र आकर्षण बढाएको आयोजकको भनाइ छ।
महोत्सवको दोस्रो दिन रैथाने क्षेत्रका परम्परागत तथा विशिष्ट परिकारहरूको प्रदर्शनी तथा विक्री गरिएको थियो। स्थानीय महिलाहरूको सक्रिय सहभागितामा विविध स्वादयुक्त परिकारहरू तयार पारिएको थियो, जसले आगन्तुकहरूको मन जित्न सफल भयो।
कार्यक्रमका क्रममा स्थानीय संस्कृति झल्किने नाचगान, लोक संगीत र हस्तकला प्रदर्शनीले महोत्सवलाई झनै आकर्षक बनाएको थियो। नेपाल घरेलु तथा साना उद्योग महासंघ उदयपुरको अध्यक्ष बिना राईले दुई दिने औद्योगिक पर्यटन तथा रैनाथे खाना महोत्सवलाई उद्योगी व्यवसायीहरुको एउटा उत्सवको रुपमा लिनुपर्ने बताउनुभयो ।
महोत्सव नेपाल घरेलु तथा साना उद्योग महासंघ कार्य समिति उदयपुरको आयोजना तथा पर्यटन कार्यालय धरान र नेपाल घरेलु तथा साना उद्योग कार्यालय उदयपुरको सहयोगमा भएको हो ।