
उदयपुर, साउन २३ – उदयपुरको त्रियुगा नगरपालिका–७ स्थित नमुना चोकमा बुधबार राति आयोजित जन्मदिनको भोजपछि एकैपटक २७ जना मानिस बिरामी परेका छन्।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार जितेन्द्र राईको घरमा रातिको समयमा आयोजित भोजमा सहभागी भएका व्यक्तिहरूले परिकार स्वरूप रोटी, अचार, पुरी, बुनिया, पुवा आदि खाएका थिए। ती परिकार सेवन गरेपछि उनीहरूमा झाडापखाला र बान्ताजस्ता लक्षण देखा परेपछि स्वास्थ्य अवस्था बिग्रिएको बताइएको छ।
बिरामीमध्ये ३ जना पुरुष, ११ जना महिला, ५ जना बालक र ८ जना बालिका छन्। सबै बिरामीहरूलाई साउन २२ गते रातिनै करिब ८ बजे उदयपुर जिल्ला अस्पतालमा भर्ना गरिएको थियो।
अस्पताल स्रोतका अनुसार २६ जना बिरामीलाई प्रारम्भिक उपचारपछि डिस्चार्ज गरिएको छ भने एकजना बालकको उपचार हाल पनि जारी रहेको छ। ती बालकको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकहरूले जनाएका छन्।
यस घटनापछि प्रहरीले सम्भावित खाद्य विषाक्तता (फुड पोइजनिङ) को आशंकामा घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ। भोजमा प्रयोग भएका खाद्य सामग्रीको स्रोत, तयारी प्रक्रिया र भण्डारण अवस्थाबारे जानकारी संकलन भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। स्थानीयस्तरमा यस्ता घटनाहरू दोहोरिन नदिन सावधानी अपनाउन स्वास्थ्यकर्मीहरूले आग्रह गरेका छन्।