
लहान, सिरहा १५ साउन— निर्माणपछि चार वर्षदेखि रोकिएको लहानस्थित खुट्टी सिँचाइ नहर अन्ततः सञ्चालनमा ल्याइने भएको छ।
झण्डै नौ करोड लागतमा ‘हेडवक्र्स’ निर्माण भइसके पनि बजेट अभाव, समन्वयको कमी र विवादका कारण नहर सञ्चालनमा आउन सकेको थिएन। मधेस प्रदेश सरकारले हालै विनियोजन गरेको १५ लाख रुपैयाँ बजेटबाट नहर सफाइ र मर्मत गरी सञ्चालनमा ल्याइने जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, सिरहाले जनाएको छ।
बुधबार प्रदेशसभा सदस्य राजेन्द्रप्रसाद चौधरी, जिल्ला समन्वय समिति सभापति दिनेश महतो, प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल लगायतको टोलीले नहरको स्थलगत अनुगमन गरेको थियो।सिँचाइ डिभिजनका प्रमुख हस्मत अन्सारीले तीन वर्षदेखि बजेट नपाएर नहर ठप्प रहेको बताउँदै, “अब ‘फास्ट ट्र्याक’मा काम अघि बढाएर नहर सञ्चालन गरिनेछ,” भने।
खुट्टी सिँचाइ आयोजनाबाट लहान, सखुवानान्करकट्टी, भगवानपुर र लक्ष्मीपुर पतारीका ९३५ बिघा खेतमा सिँचाइ सुविधा पुग्नेछ। लामो समय रोकिएपछि किसानले संघर्ष समिति बनाएर दबाब दिएपछि नहर पुनः सञ्चालनको प्रक्रिया अघि बढाइएको हो।