
उदयपुर १४ साउन — विद्युत मर्मतको क्रममा करेन्ट लागेर एक विद्युत कर्मचारीको ज्यान गएको छ। त्रियुगा नगरपालिका–१०, बोक्से निवासी ५२ वर्षीय रामकृष्ण राजधामीको मृत्यु भएको हो। उनी नेपाल विद्युत प्राधिकरण गाईघाट वितरण केन्द्रमा कार्यरत थिए।
मंगलबार त्रियुगा नगरपालिका–८, बाघचौरीमा विद्युतको पोलमा चढी मर्मत कार्य गर्दै गर्दा करेन्ट लागेर उनी भुईँमा खसेका थिए। गम्भीर घाइते अवस्थामा तत्काल उद्धार गरी जिल्ला अस्पताल उदयपुर पुर्याइएको भए पनि चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका थिए।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार घटनापछि उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमै राखिएको छ। विद्युत मर्मतका क्रममा पर्याप्त सुरक्षा उपाय नअपनाइएको हुनसक्ने भन्दै थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
स्थानीयवासी र सहकर्मीहरूबीच शोकको वातावरण छाएको छ। मृतक राजधामी विद्युत सेवा क्षेत्रमा समर्पित कर्मचारीका रूपमा परिचित थिए।