
उदयपुर साउन १३— अबदेखि उदयपुरमा नेपाली नागरिकताको प्रमाणपत्रमा आमाको नाम अनिवार्य रुपमा समावेश गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय, गाईघाटले सूचना जारी गर्दै जिल्लाका सबै आठ स्थानीय तहलाई सिफारिस पठाउँदा आमाको नाम अनिवार्य रूपमा समावेश गर्न निर्देशन दिएको हो।
प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेलद्वारा हस्ताक्षरित सूचनामा नागरिकता नियमावली, २०६३ अनुसार आमाको विवरण नआएको भन्दै अबदेखि खाली महल नराखी विवरण भर्न अनुरोध गरिएको छ।
“सनाखतका लागि आउने व्यक्तिले अन्य कागजातसँगै आमाको सक्कल नागरिकता पनि अनिवार्य रूपमा ल्याउनु पर्नेछ,” सूचनामा उल्लेख छ।
हाल उदयपुरमा गाईघाटस्थित जिल्ला प्रशासन कार्यालय र कटारीस्थित ईलाका प्रशासन कार्यालयबाट नागरिकता सेवा दिइँदै आएको छ।यसअघि वंशजको आधारमा बुबाको नाम मात्र समावेश गरिँदै आएकोमा अब आमाको नाम पनि अनिवार्य बनाइएको हो।