
उदयपुर साउन १३– आज नेपाली समाजमा पुरानो धार्मिक र सांस्कृतिक महत्व बोकेको पर्व नाग पञ्चमी देशभर श्रद्धापूर्वक मनाइँदैछ।
प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने यस पर्वमा आजको दिन घरको मुख्य मूलढोका, भित्तो वा पूजाकोठामा नागको चित्र बनाई पूजन गरिन्छ। कतिपय ठाउँमा नागको मूर्ति वा चित्र टाँसी दूध, दुबो, अक्षता, फूल, र जौको सिडा लगायतका पूजाका सामग्री चढाइन्छ। नागहरूको पूजा गरी घरमा सर्पप्रति भय कम हुने, सृष्टिको सन्तुलन कायम हुने विश्वास गरिन्छ।
धार्मिक स्थलहरूमा आज विशेष पूजा, कथा वाचन र व्रत बस्ने परम्परा रहेको छ। हिन्दू धर्मावलम्बीहरूले आजको दिन नागहरूको प्रार्थना गर्दै घर-परिवारमा सुख, शान्ति र समृद्धिको कामना गर्दछन्।